Share this post!
भारतका विभिन्न राज्यहरूमा केही दिनयता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।नरेन्द्र मोदी नेतृत्वको सरकारले गत मंगलबार भारतका तीन सैनिक सेवा ( स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। सुरूमा साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले यो स्किममा भाग लिएर चार वर्ष सैनिक हुन पाउने प्रावधान राखिएको थियो।मोदी सरकारको उक्त निर्णयविरूद्ध प्रदर्शन भएपछि यसपालिका लागि भनेर उमेर २३ वर्ष पुर्याइएको छ। तर प्रदर्शन मत्थर भएको छैन।भारतका बिहार, उत्तर प्रदेश, तेलंगना, पश्चिम बंगाल, हरियाणा र मध्य प्रदेश राज्यमा युवाहरूले विरोध जारी राखेका छन्। प्रदर्शनकारीहरूले रेल सेवालाई निशाना बनाएका छन्।एनडिटिभीका अनुसार शनिबारसम्म कम्तीमा १२ वटा रेलमा आगो लगाइएको छ, ३ सयभन्दा बढी रेल प्रभावित भएका छन्। विभिन्न रेलवे स्टेशनमा आगजनी र तोडफोड गरिएको छ। बिहारमा प्रदर्शनकारीहरू भाजपाका प्रदेश नेतका घरलाई पनि निशाना बनाएका छन्। दर्जनौं सवारी साधनमा आगो लगाइएको छ भने सार्वजनिक सम्पत्ति तोडफोड गरिएको छ।तेलंगनामा भएको प्रदर्शनका क्रममा एक जना १९ वर्षीय किशोरको मृत्यु भएको छ।