Share this post!
काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका छन्।सञ्चारमाध्यमलाई सम्बोधन गर्दै सभामुखले भनेका छन्, राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र हिजो मात्र प्राप्त भयो। सभामुखले संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन्। उनले नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६ अर्थात् शनिबार संसदको बैठक बोलाउने योजना रहेको बताए। सभामुख महिन्दा यापा आबेवर्देनाले आगामी ७ दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि संसद्को प्रक्रिया पूरा गर्ने पनि सञ्चारमाध्यमलाई जानकारी दिए। उनले भने ‘संविधानको व्यवस्थाबमोजिम नयाँ राष्ट्रपति चयनका लागि आवश्यक संसदीय कार्य सञ्चालन गर्ने मेरो मनसाय छ। यसका लागि सबै दलका नेताहरूलाई साथ दिन आग्रह गर्दछु।’सभामुखले यस अवधिमा लोकतन्त्रलाई कायम राख्न सबै राजनीतिक दल र संसदलाई आग्रह पनि गरे। देशको आर्थिक अवस्था डामाडोल बनाएर राष्ट्रपति राजापाक्षे माल्दिभ्सबाट भागेर सिंगापुर पुगेका छन्।