news-details
अन्तरास्ट्रिय

Share this post!

तालिबानविरुद्ध फेसबुकको कठोर नीति

काठमाडौं :  सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ। फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो।अफगानिस्तान नेसनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,’ अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । समाचारमा लेखिएको छ, ‘तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधि सञ्चालन गरेका थिए। तथापि यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँचयोग्य छैनन्।’अफगानिस्तान नेसनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पस्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ । ‘फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल साइटमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतङ्कवादी सङ्गठनका रूपमा नामकरण गर्ने पहिलो संस्था थियो,” अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ।फेसबुकको प्लेटफर्मले तालिबानलाई ‘आतङ्कवादी सङ्गठनका रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस सङ्गठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,’ विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ। खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो। फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबानविरोधी नीति लागू गरेको छ। यसका साथै फेसबुक आफैँ, इन्स्टाग्राम र ह्वाट्स एपले पनि यो नीति लागू गरेको छ। तालिबानका अधिकारी तथा प्रवक्ता ट्वीटरमा पनि सक्रिय छन्। अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेषगरी महिला, किशोरकिशोरीसहित हजारौँ पत्रकार तथा सञ्चारकर्मी रोजगारीबाट वञ्चित भएका छन्। आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार सङ्घ एन्जुले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चारमाध्यम बन्द भएको देखाएको छ।यस सङ्कटले अखबारलाई सबैभन्दा धेरै असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन्। आईएफजेका लागि सङ्कलित प्रतिवेदनअनुसार अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ५१ टीभी स्टेसन, १३२ वटा रेडियो स्टेसन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन्।रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन  युनामाले जारी गरेको प्रतिवेदनअनुसार मानव अधिकार उल्लङ्घनका कारण १७३ जनापत्रकार तथा सञ्चारकर्माी प्रभावित भएका छन्। तीमध्ये १६३ जना अधिकारकर्मी पीडित भएका थिए।