news-details
अन्तरास्ट्रिय

Share this post!

हङकङले बाहिरबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने समय सातबाट तीन दिनमा घटायो

हङकङले विदेशबाट आउने मानिसलाई अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम केही खुकुलो गरेर अवधि घटाएको छ । हङकङले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्वकै कडामध्ये एक कदम उठाउँदै आएको थियो । यसले व्यवसाय र स्थानीय बासिन्दालाई कठिन बनाएको गुनासोबीच प्रशासनले होटल क्वारेन्टिन बस्नुपर्ने अवधि सातबाट तीन दिनमा झारेको छ । नयाँ व्यवस्था अनुसार विदेशबाट हङकङ पुग्ने यात्रीले तीन दिन होटलमा बिताएपछि ‘चार दिन घरमा चिकित्सकीय निगरानीमा बस्नुपर्नेछ ।’ निगरानी अवधिमा रहेका व्यक्तिहरू बार तथा रेस्टुरेन्टहरूमा प्रवेश गर्न पाउने छैनन् । यो नयाँ कदम आगामी शुक्रबारदेखि लागु हुनेछ ।हङकङका प्रमुख कार्यकारी जोन लीले उनको प्रशासनले अर्थतन्त्र र यात्रामाथि क्वारेन्टिनको प्रभाव घटाउन अहिलेको कदम चालेको बताए । कुनै समय ‘एशियाको विश्व सहर’को नामले चिनिने हङकङ अढाई वर्षदेखिको कठोर सीमा नियन्त्रणका कारण विश्वको सबैभन्दा एक्लिएको महानगरमा बदलिएको छ । बाँकी विश्व भाइरससँग बाच्ने नीतिमा अघि बढिसक्दा हङकङ सरकारले अझै सिमाना नाका सामान्य अवस्थामा फर्काउन समय सीमा दिएको छैन । पछिल्लो सुधारपछि पनि हङकङको यात्रा कठिन र खर्चिलो हुनेछ । कुनै व्यक्ति हङकङ जानुअघि पहिले उसले सहरका क्वारेन्टिन होटलमा कोठा रिजर्भ गर्नुपर्छ । क्वारेन्टिन होटलमा सीमित कोठाको कारण कतिले हङकङले लामो प्रतीक्षा गर्नुपर्छ ।