Share this post!
काठमाडौं : अर्मेनिया र अजरबैजानबीच सीमा विवाद चर्किएको छ। सीमामा दुई देशका सेनाबीच लडाइँ हुँदा कम्तिमा पनि एकसय सैनिकको ज्यान गएको छ। अर्मेनिया र अजरबैजानको विवादित नागोर्नो–काराबाख क्षेत्रमा सन् २०२० पछिको सबैभन्दा खराब लडाई भएको बीबीसीले जनाएको छ। भीडन्तबारे दुवै देशले एक अर्कालाई दोष लगाएका छन्।अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियाको उत्तेजनाका कारण आफ्ना ५० जना सैनिकको मृत्यु भएको जनाएको छ। अर्मेनियाले यसअघि आफ्ना ४९ सैनिकको मृत्यु भएको रिपोर्ट गरेको थियो। एकैदिन दुवै पक्षले ठूलो क्षति व्यहोरेपछि रुसको मध्यस्थतामा युद्धविराम भएको जनाइएको छ। तर युद्ध विरामपछि पनि दुवै देशले आक्रमण जारी राखेका छन्।अजरबैजान आफ्नो भूमिमा अगाडि बढ्न खोजेको आरोप लगाउँदै आर्मेनियाले विश्वका नेताहरूलाई मद्दतको लागि अपील गरेको थियो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दुवै देशका नेताहरूलाई बोलाएर लडाइँ तत्काल रोक्न र शान्ति सम्झौताका लागि जोड दिएका छन्। यस्तै, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले आफ्ना अजरबैजानका समकक्षी इल्हाम अलीयेभलाई फोन गरी युद्धविरामको सम्मानमा फर्कन आग्रह गरेका छन्।