news-details
अन्तरास्ट्रिय

Share this post!

कजाखस्थानमा राष्ट्रपतिको कार्यकालको समयावधि थपियो

कजाखस्थानका राष्ट्रपति काशीम–जोमार्ट टोकायभले राष्ट्रपतिको कार्यकाललाई सिमित गर्ने र राजधानीको नाम बदल्ने कानुनमा हस्ताक्षर गरेका छन् ।  तोकायभले शनिबार हस्ताक्षर गरेको विधेयकले राष्ट्रपतिको एक कार्यकाल सात वर्षसम्म हुने र दोस्रो कार्यकालको लागि उठ्न नपाउने व्यवस्था गरेको छ । यसअघि कजाखस्थानमा राष्ट्रपतिको एक कार्यकाल पाँच वर्षको हुन्थ्यो । यी संशोधनहरूले कजाख संसदमा सर्वसम्मत समर्थन पाएको थियो ।  विधेयकले सन् २०१९ देखि बदलिएको राजधानीको नामलाई हटाएर पुन पुरानै नाम कायम राखेको छ । सन् २०१९ मार्चमा राजधानीको नाम अस्तानाबाट बदलेर नुर–सुल्तान राखिएको थियो । उक्त नाम तोकायभ अघिका राष्ट्रपति नुर–सुल्तान नजरबायभको सम्मानमा कायम गरिएको थियो ।सन् १९९७ मा तत्कालीन राष्ट्रपति नजरबायभले देशको राजधानी अलमाटीबाट अस्ताना सारेका थिए ।   यी दुवै परिवर्तन तत्काल कार्यान्वयनमा आउने राष्ट्रपतिको बेभसाईटमा उल्लेख छ ।  सन् २०१९ मा नजरबायभले नै तोकायभलाई राष्ट्रपति चुनेका थिए । तोकायभले राष्ट्रपतिका रुपमा सुरुमा लिएका निर्णयहरूमा राजधानीको नाम उनको राजनीतिक गुरुको सम्मानमा फेर्नु पनि एक थियो ।राष्ट्रपति पद त्यागे पनि नजरबायभले सत्तारुढ दलको प्रमुख र सुरक्षा परिषदको प्रमुख रहेर देशका धेरै कुरामाथि प्रभाव कायम राखेका थिए ।  यसले गर्दा तोकायभ र नजरबायभबीच शक्ति संघर्ष भएको र दुई जनाको सम्बन्धमा तिक्तता सिर्जना हुन थाल्यो । यो वर्षको सुरुमा देशमा उठेको हिंसात्मक विरोधको समयमा तोकायभले नजरबायभलाई दुवै पदबाट बर्खास्त गरिदिएका छन् ।  तोकायभले देशमा बढेको असन्तुष्टि सम्बोधन गन ठूला सुधारको पनि वाचा गरेका छन् । सेप्टेम्बरको प्रारम्भमा तोकायभले राष्ट्रपति चुनाव समयअघि नै गर्ने बताउँदै, त्यसमा आफू पनि उठ्ने संकेत गरेका छन् ।  तर अहिलेको नयाँ परिवर्तनले उनी पुनः राष्ट्रपति पदमा उठ्न पाउने छन् कि छैनन् स्पष्ट छैन । तथापि विगतमा अन्य पूर्व सोभियत मुलुकहरु रुस र बेलारुसमा भएका यस्तै संवैधानिक परिवर्तनले सत्तारुढ नेतालाई परिवर्तित अवस्थामा पनि चुनाव उठ्न रोकेको थिएन ।