भक्तपुर । नेकपा एमालेले भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखी शुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि क्षेत्र नं. २ अन्तरगत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रम सुरु भएको एमाले जिल्ला कमिटिका अध्यक्ष बचन देउजाले बताए । क्षेत्र नं. २ को लागि एमालेको तर्फबाट पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्यविनायकमा किरण थापा र ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठको उम्मेदवारी रहेको छ । विहिबार बिहान मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ बाट एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम शुरु गरेका हुन् विभिन्न प्र्रकारका झाँकीहरु सहित निस्किएको घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो । उपस्थिती स्थानीयवासीले ‘महेश आउ, भक्तपुर समृद्ध बनाउन’, ‘महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद’, ‘महेश बस्नेत हाई, हाई अरुलाई वाई वाई’, ‘भोट फर महेश बस्नेत’, सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमा बुबा दाजु भाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए । कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । उक्त क्रममा उम्मेदवारहरुले जन चाहना अनुसारका विकासका कार्यहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रदेश समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।यस्तो छ एमाले क्षेत्र नं. २ को घरदैलो कार्यक्रम तालिकाविहान मध्यपुर र दिउँसो सूर्यविनायक नगरपालिकाभित्र घरदैलो कार्यक्रम रहेको समितिले जानकारी दिएको छ । त्यस्तै समितिले मध्यपुर क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा नं. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८ र २५ गते वडा नं. ९ घरदैलो कार्यक्रम गर्ने जनाएको छ । मध्यपुर क्षेत्रमा दैनिक रुपमा हुने घरदैलो कार्यक्रम विहान ७ बजेदेखी हुने समितिले जानकारी दिएको छ ।त्यस्तै सूर्यविनायक क्षेत्रमा आज दुई बजे वडा नं. १ मा घरदैलो कार्यक्रम हुने बताइएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा न.. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८, २५ गते वडा नं. ९ मा दिउँसो २ बजेदेखी घरदैलो हुने समितिले जानकारी दिएको छ । यस्तै २६ गते विहान सूनपा वडा नं. १० मा घरदैलो कार्यक्रम तय गरिएको समितिले जनाएको छ । निर्वाचन क्षेत्र नं. १ मा भने शुक्रबार बिहानबाट घरदैलो कार्यक्रम हुने एमालेले जानकारी दिएको छ ।