news-details
अन्तरास्ट्रिय

Share this post!

विश्वकै ठूलो सक्रिय ज्वालामुखी ३८ वर्षपछि विस्फोट

सोमबार विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखीबाट ३८ वर्षपछि पहिलो पटक लाभा र धुवाँको खरानीहरु निस्कियो । योसँगै अधिकारीहरूले अमेरिकाको हवाई राज्यस्थित बिग टापुमा बस्ने मानिसलाई आउनसक्ने खराब स्थितिको लागि तयार रहन आह्वान गरेको छ । मौना लोआको विष्फोटले नजिकको वस्ती तत्काल खतरामा नपर्ने भए पनि अमेरिकाको युएस जियोलोजिकल सर्भेले बिग आइल्याण्डमा लगभग २,००,००० मानिसलाई ‘लाभा प्रवाहको स्थान र प्रभाव तीव्र रूपमा परिवर्तन हुन सक्ने भएकाले’ सतर्क रहन भनेको छ ।लाभाको बहाव वस्तीतर्फ जाने विषयमा होसियार रहन र त्यस्तो अवस्था उत्पन्न भए तत्कालै सुरक्षित स्थानमा जान तयार रहन भनेका छन् । आइतबार रातिदेखि बिग आइल्याण्डस्थित शिखरमा रहेको खाडलमा विष्फोट सुरु भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । सोमबार विहानसम्म लाभा प्रवाहले नजिकका वस्तीलाई खतरा नपु-याएको सर्वेक्षणले बताएको छ ।‘हवाईयन ज्वालामुखी अब्जर्भेटरी’का वैज्ञानिक प्रमुख केन होनले विष्फोट भईन्जेल वरपरको क्षेत्रको वायुको गुणस्तर बिग्रन सक्ने बताएका छन् । यस पटकका विस्फोटले पनि अघिल्ला ज्वालामुखीले ढाँचा पछ्याएमा वैज्ञानिकहरूले विस्फोट आगामी एक–दुई हप्तासम्म रहने बताएका छन् । १.६ किमीदेखि ३.२ किमी लामो तीन अलग–अलग जमिनका चिरा(फिसर)हरुबाट ३० देखि ६० मिटरमाथिसम्म लाभाहरु उडिरहेकाले त्यस क्षेत्र कसैलाई नजान अधिकारीहरूले जनतालाई आग्रह गरेका छन् । तातो लाभाको अतिरिक्त ज्वालामुखीबाट निस्कने सल्फर डाइअक्साइडजस्ता ग्यास पनि हानिकारक हुन्छन् । यूएसजीएसले प्रभावित क्षेत्रबाट मानिसलाई उद्दार गरेर आश्रय दिनको लागि दक्षिण कोना तटमा कैलुवा–कोना र पहलामा शिविर खोलेको बताएको छ । युएसजीएसले विष्फोट पहाडको चट्टान फुटेको र अपेक्षाकृत कमजोर रहेको उत्तर–पूर्वी भागमा सरेको बताएको छ । पछिल्लो समय सन् १९८४ मा विष्फोट भएको ज्वालामुखीको शिखरमा केही समयदेखि भूकम्पीय हलचल बढेसँगै वैज्ञानिकहरू विस्फोट हुनसक्ने डरमा थिए । होनोलुलुको राष्ट्रिय मौसम सेवा अनुसार बिग आइल्याण्डका केही भागमा खरानी झर्ने जोखिम रहेकोले सतर्क रहन आग्रह गरेको छ । ती भेगमा झरेका खरानीले सतहमा ०.६ सेन्टिमिटरसम्म पत्र जम्मा हुन सक्ने तिनले बताएको छ । ज्वालामुखीबाट निस्कने ग्यास र सम्भवत सिसा मिश्रित खरानीहरु श्वासप्रश्वासको समस्या भएकाहरुलाई खतरनाक हुने भएकाले उनीहरु सावधान हुनुपर्छ ,’ हवाई राज्यका गभर्नर डेभिड इगेले भने । मौना लोआ ती पाँचवटा ज्वालामुखी मध्ये एक हो जुन मिलेर हवाईको बिग टापु बनेको छ । यो हवाई द्वीपसमूहको सबैभन्दा दक्षिणी टापु हो । समुद्री सतहबाट ४,१६९ मिटर उचाइमा रहेको मौना लोआ सन् १९५० मा विस्फोट हुदाँ, लाभा तीन घण्टाभित्र २४ किलोमिटर टाढा समुद्र पुगेको थियो ।